जनकपुर, अक्टोबर ११, २०२६ — जनकपुरमा छुरा प्रहारबाट युवकको हत्या भएको घटनामा आरोपित युवक र उनका आमाबुवाविरुद्ध कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतक आमिन साफीका काका रियाज साफीले शनिबार दिएको जाहेरी पक्राउ परेका मोहम्मद ईर्साद खान, २२, भनिने गुण्डा, उनका बुबा मोहम्मद समिम खान र आमा सैमुन खातुनविरुद्ध दर्ता भएको हो। उनीहरू जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सोनरपट्टीका बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जाहेरी दर्ता भएको जानकारी दिएका छन्।
गत असोज २२ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित जानकी मन्दिर पछाडि छुरा प्रहार हुँदा स्थानीय २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो। घटनामा २५ वर्षीय अर्का युवक इम्तियाज राइन गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले छुरा प्रहार गरेको आरोप लागेका मोहम्मद ईर्साद र उनकी आमा ४२ वर्षीया सैमुन खातुनलाई पक्राउ गरेको थियो।






