कञ्चनपुर, १ सेप्टेम्बर २०२६ — महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाकाबाट हुने चारपाङ्ग्रे सवारी आवागमन मंगलबार बिहानदेखि प्रभावित भएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार नदीको जलस्तर बढेपछि नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीलाई शारदा ब्यारेज अर्थात् बनबसा पुलबाट आवतजावत गर्न रोक लगाइएको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १२ हजार क्युसेक पुगेको छ।
“महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका कारण भारतीय पक्षले बनबसा पुलबाट चारपाङ्ग्रे सवारीको आवागमन रोक्ने गरेको छ,” गुरुङले भने। उनका अनुसार कञ्चनपुरसँगै पहाडी जिल्लाहरूमा समेत वर्षा भइरहेकाले नदीमा पानीको बहाव अझ बढ्न सक्ने सम्भावना छ।
एक सय वर्षभन्दा पुरानो बनबसा पुल जीर्ण अवस्थामा रहेकाले मनसुनका समयमा महाकाली नदीमा पानीको बहाव बढ्दा सुरक्षाका कारण भारी तथा चारपाङ्ग्रे सवारीमा नियमित रूपमा प्रतिबन्ध लगाउने गरिएको छ।






