खोटाङ, अक्टोबर १४, २०२६ — जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीलाई कार्यालयमा भौतिक रूपमा उपस्थित नभई चार प्रकारका सेवा लिन सक्ने व्यवस्था सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार सेवाग्राहीले आवश्यक कागजात प्रशासनको इमेल वा ह्वाट्सएपमार्फत पठाउन सक्नेछन्। उनीहरूले आफैँ कागजात पठाउन वा नजिकको वडा कार्यालयको सहयोग लिन सक्नेछन्।
“प्रशासनमा आउनुपर्दा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ। झन्झटिला प्रक्रियालाई सरल बनाउँदै प्रविधिको प्रयोगबाट सेवा छिटो र सहज बनाउने हाम्रो योजना छ,” गुरुङले भने, “पहिलो चरणमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी चार प्रकारका सेवा सुरु गरेका छौँ। आगामी दिनमा यी सेवा विस्तार गर्ने योजना छ।”
दलित, जनजाति वा खस आर्य पहिचान प्रमाणित गर्ने सिफारिस लिन वा थर प्रमाणित गर्न चाहने सेवाग्राहीले वडा कार्यालयको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व, जुलुस, उत्सव वा मेला आयोजना गर्न अनुमति लिन चाहनेले सम्बन्धित वडा वा स्थानीय तहको सिफारिससहित निवेदन वा पत्र पेस गर्नुपर्नेछ।






