कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा छ। पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइन्छ।
नेपाल सरकारले घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यमा समेटेको मुन्दुम पदमार्ग साल्पा–सिलिचुङसम्म विस्तार गरिएको छ। पदमार्गले छोएका क्षेत्रलाई जोड्दै खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा थप पदमार्ग निर्माण गरिरहेका छन्।
प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको साल्पा–सिलिचुङ क्षेत्रमा पछिल्लो समय पदमार्ग, होटल तथा घरबास विस्तार हुन थालेका छन्। स्थानीय बासिन्दाका अनुसार आवास सुविधा बढेसँगै मुन्दुम पदमार्ग हुँदै त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ।
होटल तथा घरबास सञ्चालनमा आउनुअघि त्यहाँ पुग्ने पर्यटक चौँरीगोठ र भेँडीचोकमा बास बस्ने गर्थे। धार्मिक महत्त्वसँगै प्राकृतिक सौन्दर्यका लागि पनि परिचित यस क्षेत्रको पदमार्ग आसपास ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक र घोडचढीजस्ता दृश्य अवलोकन गर्न सकिन्छ।