महोत्तरी, सेप्टेम्बर १९, २०२६ — महोत्तरीको बलवा नगरपालिका–७ बनौटास्थित सेफ्टी ट्यांकीमा टुक्राटुक्रा अवस्थामा शव फेला परेका २२ वर्षीय विवेककुमार सरदारको हत्या भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
भंगहा नगरपालिका–६ का अशोककुमार बाटारका छोरा विवेक भदौ १४ गते साँझदेखि सम्पर्कविहीन भएका थिए। उनी जलेश्वर नगरपालिका–९ पिगौस्थित दिदीको घरबाट मोटरसाइकलमा घर फर्किंदै थिए। छोरा घर नआएपछि उनका बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।
त्यसपछि प्रहरीले वडा कार्यालयको सीसीटीभी फुटेज, मोबाइलको लोकेसन विश्लेषण तथा अन्य प्राविधिक अनुसन्धानका माध्यमबाट विवेकको खोजी अघि बढाएको थियो। खोजीका क्रममा भदौ २६ गते बनौटामा अशोककुमार ठाकुरको घरपछाडिको सेफ्टी ट्यांकीभित्र विवेकको शव फेला परेको थियो।
प्रहरीका अनुसार शव टुक्राटुक्रा पारिएको अवस्थामा थियो। प्रारम्भिक अनुसन्धानबाट शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्यांकीभित्र राखिएको र ट्यांकीको एक भागमा नयाँ प्लास्टर गरिएको खुलेको छ।
शव फेला परेपछि सुरुमा बेपत्ता व्यक्तिको खोजीका रूपमा अघि बढेको अनुसन्धान अहिले हत्या प्रकरणमा केन्द्रित भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ठाकुर परिवारकी बुहारी सोनुकुमारी ठाकुर र विवेकबीच लामो समयदेखि रहेको प्रेम सम्बन्धबारे परिवारले थाहा पाएपछि हत्या गरिएको आशंका गरिएको छ।






