रसुवा, २६ अगस्ट २०२६ — रसुवामा बुधबार आएको भीषण बाढी जिल्लाभित्र भएको वर्षाका कारण आएको सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक विश्लेषणले देखाएको छ। यससँगै तिब्बततर्फ हिमताल विस्फोट वा अन्य कुनै जलस्रोतबाट एक्कासि पानी निस्किएको हुनसक्ने आशंका गरिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा रसुवामा उल्लेख्य वर्षा भएको छैन। छिमेकी सिन्धुपाल्चोकका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा भए पनि रसुवाका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। रसुवाको थम्बुचेत वर्षा मापन केन्द्रमा करिब ७ मिलिमिटर वर्षा मापन भएको उनले बताए।
पछिल्लो १२ घण्टाको वर्षा विवरणले पनि सिन्धुपाल्चोकमा वर्षा घट्दै गएको र रसुवामा थप उल्लेख्य वर्षा नभएको देखाएको अधिकारीले बताए। यस आधारमा रसुवामा स्थानीय रूपमा परेको वर्षाले मात्रै यति ठूलो र एक्कासि आएको बाढीको व्याख्या गर्न नसकिने प्रारम्भिक निष्कर्ष निकालिएको हो।
विभागले बाढीको सम्भावित स्रोत पत्ता लगाउन भू-उपग्रहबाट प्राप्त तस्बिरसमेत अध्ययन गरिरहेको छ। अधिकारीका अनुसार तस्बिरमा दोलखा, सिन्धुपाल्चोक र तिब्बततर्फ बाक्लो बादल देखिएको थियो भने रसुवा र आसपासका क्षेत्रमा तुलनात्मक रूपमा कम बादल देखिएको थियो।
यस आधारमा तिब्बततर्फ हिमताल फुटेको वा बाँध अथवा पानी थुन्ने अन्य संरचना भत्किएर एक्कासि पानी बगेको हुनसक्ने आशंका गरिएको छ। तर बाढीको वास्तविक कारण अहिलेसम्म पुष्टि भइसकेको छैन। सम्बन्धित निकायले भू-उपग्रह तस्बिर तथा अन्य प्राविधिक सूचनाको अध्ययन जारी राखेका छन्। बाढीको स्रोत पहिचान गर्न नेपालले चिनियाँ अधिकारीसँग समेत समन्वय गरिरहेको छ।






