चितवन, १६ अगस्ट २०२६ — चितवनको राप्ती नगरपालिका–१ स्थित बस्तीमा प्रवेश गरी स्थानीय व्यक्ति र गाईलाई आक्रमण गरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले सुरक्षित रूपमा नियन्त्रणमा लिएको छ।
बाघ आइतबार बिहान करिब ६:३० बजे बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो। बाघको आक्रमणमा परी ६० वर्षीय स्थानीय ठाकुर अधिकारी घाइते भएका छन्। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ र अवस्था स्थिर रहेको बताइएको छ।
स्थानीय बासिन्दा दिलकुमारी तामाङको गाईलाई पनि बाघले आक्रमण गरेको थियो। आक्रमणबाट गाईलाई सामान्य चोट लागेको छ।
घटनापछि चितवन राष्ट्रिय निकुञ्जले हात्ती र प्राविधिक टोली परिचालन गरी बाघको खोजी तथा नियन्त्रणको काम अघि बढाएको थियो। टोलीले बिहान करिब १०:३० बजे डार्टमार्फत बाघलाई बेहोस बनाएर सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको हो।
नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जभित्रकै सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।






