पानामा सिटी, पानामा, अक्टोबर ९, २०२६ — मध्य अमेरिकी देश पानामामा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी पानामा सिटीसम्म महसुस गरिएको छ भने देशका विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब नौ माइल दक्षिणपश्चिममा थियो।
भूकम्पपछि शक्तिशाली परकम्प पनि गएको थियो। दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो। भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।
भूकम्पको केन्द्रबिन्दुनजिकै रहेको तटीय सहर एल भेनाओस्थित एल सिटियो होटल भत्किएको छ। होटल भत्किँदा मानवीय क्षति नभएको बताइएको छ। उक्त क्षेत्रमा केही घरमा चिरा परेको र एउटा पुलमा समेत क्षति पुगेको छ। भूकम्पका कारण विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ।
“अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो,” सहरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन्।






