काठमाडौं, अक्टोबर ६, २०२६ — नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ पुस्ताको हुन्डाई भेन्यु एन लाइनको बिक्री सुरु गरेको छ। यसको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले NAIMA मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताको भेन्युका लागि बुकिङ खुला गरेको थियो। नियमित भेन्युसँगै हुन्डाईले अब नेपाली बजारमा एन लाइन संस्करण पनि ल्याएको हो।
भेन्यु एन लाइन हुन्डाईको प्रदर्शनमुखी एन लाइन सिरिजअन्तर्गतको मोडल हो। यसमा स्पोर्टी डिजाइनका साथै एन लाइन ब्याजिङ, रातो एक्सेन्ट, विशेष सिट स्टिचिङ र स्टेयरिङ ह्विलमा स्पोर्ट मोडलगायतका विशेष डिजाइन तथा फिचर छन्।
कम्प्याक्ट एसयूभीमा १.०-लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन रहेको छ, जसले १२० पीएस पावर उत्पादन गर्छ। यसमा ७-स्पिड डीसीटी अटोमेटिक गियरबक्स र प्याडल सिफ्टर दिइएको छ।
नयाँ पुस्ताको भेन्यु अघिल्लो पुस्ताको तुलनामा लामो र फराकिलो छ। यसको लम्बाइ ३,९९९ मिलिमिटर, चौडाइ १,८०० मिलिमिटर र उचाइ १,६१५ मिलिमिटर छ। यसको ह्विलबेस २,५२० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ।






