काठमाडौं, १६ अगस्ट २०२६ — अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुन जाने नेपाली ‘ए’ क्रिकेट टोलीलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले बिदाइ गरेको छ।
अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय नेपाली ‘ए’ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, त्रितराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, शाहब आलम, विपिन खत्री, रिजान ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री रहेका छन्।
क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले टोलीलाई बिदाइ गरेका थिए।
उत्तरी क्षेत्र क्रिकेटको आयोजनामा हुने टप एन्ड टी–२० सिरिज अस्ट्रेलियाको डार्विनमा सञ्चालन हुनेछ। प्रतियोगिताको लिग चरण अगस्ट २० देखि सुरु हुनेछ र नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली ‘ए’ टोलीले टप एन्ड टी–२० सिरिजमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो।



