अल अमेरत, ओमान, अक्टोबर १७, २०२६ — आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको तेस्रो खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ १ मा हुने खेल स्थानीय समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपालले शृङ्खलाका यसअघिका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा आयोजक ओमानलाई पराजित गरेको थियो।
लिग २ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौं स्थानमा छ। क्यानडा भने ३५ खेलबाट २७ अंकसहित सातौं स्थानमा रहेको छ।
सुरुका खेलमा ओमान र नेपालसँग पराजित भएको क्यानडाले बिहीबार ओमानलाई हराएको थियो।






