मनाङ, सेप्टेम्बर २८, २०२६ — मनाङको हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन्।
आइतबार बिहान नारफु क्षेत्रमा रहेको ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो गएको थियो। हिमपहिरोले शिविरका टेन्ट तथा अन्य संरचना बाक्लो हिउँले पुरेको थियो।
नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार आइतबार खोजीका क्रममा दुई जनाको शव फेला परेको थियो। शवलाई मनाङको चामे ल्याइएको र काठमाडौं पठाउने तयारी गरिएको थियो।
नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघका अनुसार मृत्यु हुने दुवै जना आरोहण पथप्रदर्शक थिए भने १४ जना भान्साका कर्मचारी तथा अन्य सहयोगी कर्मचारी बेपत्ता छन्। पर्वतीय पथप्रदर्शक मिङ्मा जी शेर्पाको नेतृत्वमा रहेको उद्धार टोली हेलिकोप्टरमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजीमा जुटेको छ।
सोमबार खोजी तथा उद्धार कार्य पुनः सुरु गरिएको छ। कठिन मौसम र हिमाली भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। आधार शिविर तथा आसपासका क्षेत्रमा खोजीका लागि १४ सदस्यीय उद्धार टोली परिचालन गरिएको छ।






