काठमाडौं, अक्टोबर २, २०२६ — काठमाडौं प्रहरीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन्।
प्रहरीका अनुसार उनीहरू असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की र हातपात गरेको उनीहरूमाथि आरोप छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली अस्पतालमा पुगेको थियो। चेकजाँचका क्रममा पक्राउ परेका तीनै जनाको घटनामा संलग्नता रहेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको छ। सोही म्यादअनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ।






