काभ्रे, अक्टोबर १४, २०२६ — प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।
प्रधानमन्त्री शाह आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका हुन्।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार नित्य पूजाका समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरेर फर्किएका थिए।
प्रधानमन्त्री शाहको मन्दिर भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई पूर्वजानकारी गराइएको थिएन। स्रोतका अनुसार प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मी पनि सिभिल पोसाकमा थिए।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्ने गर्छ। पलाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। विशेषगरी नवरात्रका अवसरमा यहाँ उल्लेख्य संख्यामा भक्तजन आउने गर्छन्।






