काठमाडौं, २१ अगस्ट २०२६ — प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार काठमाडौंँबाट सडकमार्ग हुँदै पोखरा पुगेका छन्। त्यहाँबाट उनी मुस्ताङ जाने तयारीमा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शाहको मुस्ताङ भ्रमण निजी रहेको जनाएको छ।
शाहको अप्रत्याशित भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा महत्वपूर्ण केन्द्रीय समिति बैठक गरिरहेका बेला भएको हो। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटका मापदण्ड, संगठनात्मक नियुक्ति तथा ‘राइट टु रिकल’लगायत १ दर्जनभन्दा बढी संगठनात्मक र नीतिगत विषयमा छलफल भइरहेको छ।
रास्वपासँगको एकीकरणपछि वरिष्ठ नेता तथा संसदीय दलको नेताको भूमिकामा रहेका शाह भने बैठकमा सहभागी भएनन्।
प्रधानमन्त्री शाह सरकारी गाडीमा धादिङ हुँदै पोखरातर्फ गएका थिए। प्राप्त विवरणअनुसार उनी शुक्रबार राति कास्कीको अन्नपूर्ण क्षेत्रमा रहेको एक रिसोर्टमा बस्ने र त्यसपछि मुस्ताङतर्फ जाने कार्यक्रम रहेको छ।
शाहको भ्रमणबारे पूर्वसूचना नदिइएको विषयले सुरक्षा समन्वयबारे समेत प्रश्न उठेको छ। कास्की र मुस्ताङका सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको भ्रमणका लागि गृह मन्त्रालय वा प्रधानमन्त्रीको कार्यालयबाट पूर्वजानकारी नआएको बताएका छन्।






