काठमाडौं, १४ अगस्ट २०२६ — नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट नेकपा (एमाले)को समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरले आफूमा खुसीभन्दा जिम्मेवारी र चुनौतीको भावना बढाएको बताएका छन्।
“खुसीभन्दा पनि जिम्मेवारीको बोझ र त्यसभन्दा अलि बढी चुनौती महसुस भएको छ,” भट्टले भने, “२७ लाख जनताको भावनालाई केन्द्रमा राखेर सम्पूर्ण सदनको विश्वासका साथ काम गर्नेछु।”
उनले धेरै चमत्कार गर्न नसकिए पनि आफ्नो नेतृत्वमा हुने काम भने राम्रोसँग सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। “जे गर्छु, राम्रो गर्छु र राम्रो भएको जनतालाई महसुस गराउने गरी गर्छु,” भट्टले भने।
भट्टले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथपछि उनले नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने अपेक्षा गरिएको छ।





