काठमाडौं, सेप्टेम्बर १३, २०२६ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्ने अवस्थालाई क्रमशः अन्त्य गर्दै प्रविधिमा आधारित प्रणाली विकास गर्नुपर्ने बताए।
उनले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन तथा समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ र पार्किङ व्यवस्थापन सुधार गर्नुका साथै आपत्कालीन उद्धार तथा प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने कार्कीको भनाइ थियो।
राजधानीको बढ्दो जनसङ्ख्या, तीव्र सहरीकरण र सवारी चापका कारण ट्राफिक व्यवस्थापनसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए।






