काठमाडौं, सेप्टेम्बर २०, २०२६ — नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न परिवारलाई आग्रह गरेको छ।
‘विपद्का समयमा बालबालिकाको व्यवस्थापन’ सम्बन्धी आधिकारिक सुझाव जारी गर्दै सोसाइटीले स्तनपान गराउन नसकिने विशेष र संवेदनशील अवस्थामा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने जनाएको छ।
आपत्कालीन अवस्थामा पनि स्तनपानलाई निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने नेपासले जनाएको छ।
सोसाइटीका अनुसार फर्मुला मिल्क वा बट्टाको दूधजस्ता आमाको दूध प्रतिस्थापन गर्ने वस्तु स्तनपान पूर्ण रूपमा असम्भव भएको अवस्थामा र स्वास्थ्यकर्मीको उचित सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ।
सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु निम्न अवस्थामा प्रयोग गर्न सकिने जनाएको छ: आमाको मृत्यु वा आमा बेपत्ता भएको अवस्थामा, वा लामो समयदेखि आमा र बच्चा छुट्टिएको अवस्थामा; आमाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भई स्तनपान गराउन नसक्ने अवस्थामा; आमामा गम्भीर मानसिक चोट वा आघात पुगी स्तनपान गराउन नसक्ने अवस्थामा; विपद्अघि नै शिशुलाई आमाको दूधको विकल्प प्रयोग गराउँदै आएको अवस्थामा; चिकित्सकीय कारणले आमाले स्तनपान गराउन वा शिशुले आमाको दूध लिन नसक्ने अवस्थामा; अन्य कुनै कारणले स्तनपान गराउन नसकिने अवस्थामा; वा धाई आमा उपलब्ध नभएको अवस्थामा।






