काठमाडौं, सेप्टेम्बर २१, २०२६ — बंगालको खाडीमा विकसित वर्षा प्रणाली र त्यसको नेपालमा पर्न सक्ने प्रभावबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको बैठकमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्न सक्ने प्रभावबारे छलफल भएको हो।
प्राधिकरणका अनुसार नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले उक्त प्रणालीका कारण हुन सक्ने वर्षाको सम्भावनाबारे बैठकलाई जानकारी गराएका थिए।
बैठकले वर्षा गराउने उक्त प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ।
त्यसैगरी, भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानमा कनेक्टिभिटी सुचारु गर्न विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।






