काठमाडौं, अक्टोबर ९, २०२६ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा भेटेपछि छानबिनको दायरामा आएका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहालमाथिको जाँचबुझ पूरा भएको छ। जाँचबुझ अधिकृत एआईजी अञ्जनीकुमार पोखरेलले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएका छन्।
गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गर्दै पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो।
जाँचबुझको निष्कर्षअनुसार दाहालको जबरानिकट भनिएका बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएको छ। जाँचबुझ समितिले दाहालसँग बयान लिएको थियो। बयानका क्रममा दाहालले आफूहरू एउटै जिल्ला झापाका भएकाले चिनजान रहेको र ह्वाट्सएप तथा मोबाइल फोनमार्फत कुराकानी हुने गरेको स्वीकार गरेका छन्।
दाहालले ह्वाट्सएपमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको लोकेसनबारे पनि सापकोटालाई जानकारी दिएको जाँचबुझबाट पुष्टि भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताएका छन्। सापकोटामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।
दाहाल र सापकोटाबीच भएको कुराकानीको विवरण प्रहरी प्रधान कार्यालयले जाँचबुझ अधिकृतलाई उपलब्ध गराएको थियो। सोही विवरणका आधारमा एआईजी पोखरेलले जाँचबुझ गरी प्रतिवेदन बुझाएका हुन्। दाहालले सशस्त्र प्रहरी नियमावली, २०७२ विपरीत काम गरेको जाँचबुझको निष्कर्ष छ।






