नयाँदिल्ली, भारत, अक्टोबर ८, २०२६ — अमेरिकी अर्बपति एलन मस्कले आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई भारत प्रवेश गर्न केही उद्योगपतिले रोकिरहेको आरोप लगाएका छन्।
मस्कले सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टको जवाफ दिँदै स्टारलिंकको भारत प्रवेश रोक्नुको उद्देश्य केही उद्योगपतिको भारतीय उपभोक्तामाथिको एकाधिकार कायम राख्नु रहेको दाबी गरेका हुन्।
स्टारलिंकले भारतमा सेवा सञ्चालनका लागि अनुमति प्रक्रिया अघि बढाइरहेका बेला मस्कको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो। उनले स्टारलिंकको प्रवेशमा अवरोध गरिरहेको भनिएका उद्योगपतिको नाम भने सार्वजनिक गरेका छैनन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एलन मस्कले गरेको पोस्टको स्क्रिनसट।
“दुर्भाग्यवश, केही खास उद्योगपतिले हामीलाई रोकिरहेका छन्, ताकि भारतीय जनतामाथि उनीहरूको एकाधिकारवादी पकड कायम रहोस्। उनीहरू को हुन्, तपाईं अनुमान गर्न सक्नुहुन्छ। यो भारतका जनताविरुद्धको अपराध हो,” मस्कले लेखेका छन्।
भारतमा अझै ठूलो संख्यामा गाउँहरू ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट बाहिर रहेको र त्यसकारण स्टारलिंक आवश्यक रहेको विषयमा गरिएको पोस्टको जवाफमा उनले यस्तो टिप्पणी गरेका हुन्।






