चितवन, अक्टोबर १५, २०२६ — चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले सडक छेउमा रोकिराखेको ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे दुर्घटना भएको हो। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा ट्रक चालकसहित बस र ट्रकमा सवार गरी आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्य छ भने एक महिलाको अवस्था मध्यम रहेको छ।
घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको प्रहरी निरीक्षक थापाले बताए।
दुर्घटनापछि बस चालक घटनास्थलबाट फरार भएको र उनको खोजी भइरहेको थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






