काठमाडौं, सेप्टेम्बर १३, २०२६ — प्रधानसेनापति अशोकराज सिग्देल सातदिने औपचारिक चीन भ्रमणका लागि आइतबार बेइजिङ प्रस्थान गरेका छन्।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सिग्देलले सेप्टेम्बर १३ देखि १९ सम्म चीनको भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उच्चस्तरीय रक्षा तथा सुरक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। उनले बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता तथा छलफल गर्नेछन्। ती छलफलमा नेपाल र चीनबीचको सैन्य सहकार्यलाई थप सुदृढ बनाउने तथा रक्षा सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धलाई थप मजबुत बनाउन तथा रक्षा र सुरक्षा क्षेत्रका पारस्परिक हितका विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ।






