शुक्रबार कूले थप एफ–१६भी विमान “वर्षको अन्त्यअघि” ताइवान आइपुग्ने बताए, तर कति वटा आउनेछन् भन्ने खुलाएनन्।
“अहिले विमानहरू क्रमशः उत्पादन प्रक्रियाबाट अघि बढिरहेका छन् र केही विमानले परीक्षण पनि पूरा गरिसकेका छन्,” कूले भने।
“ती विमान कहिले फर्केर उड्नेछन् भन्ने विषयमा हामी अमेरिकी पक्षसँग थप समन्वय गर्नेछौँ,” उनले भने।
ट्रम्पले ताइवानका लागि प्रस्तावित १४ अर्ब डलरको रेकर्ड हतियार प्याकेजको स्वीकृति रोकेका छन्। उनले मे महिनामा चीनसँगको सम्बन्धमा उक्त प्याकेजलाई “धेरै राम्रो वार्ताको माध्यम” भनेका थिए। यसले ताइवानको सुरक्षासँग सम्बन्धित चिन्ता बढाएको थियो।
रिपोर्टमा उद्धृत विज्ञहरूले डिसेम्बरमा अमेरिकामा हुने जी–२० शिखर सम्मेलनअघि उक्त प्याकेज स्वीकृत हुने सम्भावना कम रहेको बताएका छन्। सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच यस वर्ष चौथोपटक भेट हुने अपेक्षा गरिएको छ।
अमेरिकी एक अधिकारीले हालै १४ अर्ब डलरको उक्त हतियार प्याकेजलाई चीनको प्रतिक्रिया कम गर्न साना–साना प्याकेजमा विभाजन गर्ने सम्भावना बढेको बताएका छन्। प्याकेजमा प्याट्रियट हवाई रक्षा प्रणाली पनि समावेश छ।