रसुवा, २७ अगस्ट २०२६ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ३३६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रभावित क्षेत्रमा घाइते तथा बाढीका कारण फसेका व्यक्तिको खोज तथा उद्धार, आकस्मिक उपचार र राहत वितरणको काम जारी छ।
बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाले करिब ४ हजार जनशक्ति परिचालन गरेको छ।
बिहीबार बिहान उद्धार गरिएका व्यक्तिमध्ये ६ देशका ४५ जना विदेशी नागरिक रहेका छन्। उनीहरूलाई रसुवाका टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हवाई माध्यममार्फत सुरक्षित स्थानमा लगिएको हो।
बाढीका कारण सडक तथा अन्य यातायात सम्पर्कमा ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको अवस्थामा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।






