नुवाकोट, ६ सेप्टेम्बर २०२६ — भदौ १० गते आएको भीषण बाढीले त्रिशूली नदी आसपासका अधिकांश पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात र आवतजावत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यातायात पुनःस्थापित गर्न नेपाली सेनाले विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ।
बाढीका कारण देवीघाट क्षेत्रमा रहेको पुल तथा सडक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन नेपाली सेनाको इन्जिनियरिङ फौजले अस्थायी पुल निर्माण गरिरहेको हो।
निर्माणाधीन एक्रो ब्रिज ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको नेपाली सेनाले जनाएको छ।
बाढीले त्रिशूली नदी आसपासका विभिन्न पुलमा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा स्थानीयको दैनिक आवतजावत प्रभावित भएको थियो।
देवीघाटमा निर्माणाधीन पुलको काम सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत सहज हुने र यातायात सेवा पुनःसञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






