काठमाडौं, सेप्टेम्बर १८, २०२६ — नेपाल विद्युत् उत्पादक संघ (आईपीप्यान)ले भदौ १० गते भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजनालाई ‘विशेष बाढी प्रभावित जलविद्युत् आयोजना’ घोषणा गरी छुट्टै राहत तथा पुनर्निर्माण प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग बुधबार भएको भेटमा आईपीप्यानका अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि कानुनी, वित्तीय, प्रशासनिक र नियामकीय व्यवस्था गर्न माग गरेको हो। ऊर्जा मन्त्रालयले पनि भदौ १० गतेको बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा विद्युत् संरचना प्रभावित भएको पुष्टि गरेको छ।






