काठमाडौं, ८ सेप्टेम्बर २०२६ — जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केट आन्दोलनको एक वर्षपछि बिस्तारै पुरानै लयमा फर्किने प्रयासमा जुटेको छ।
देशभर रहेका भाटभटेनीका २८ वटा स्टोरमध्ये १२ वटा आगजनीबाट प्रभावित भएका थिए भने ९ वटा स्टोरमा तोडफोड र लुटपाट भएको थियो। कुल २१ वटा प्रभावित स्टोरमध्ये हालसम्म १७ वटा पुनः सञ्चालनमा आएका छन्।
तोडफोड र लुटपाट भएका सबै ९ वटा शाखा यसअघि नै सञ्चालनमा आइसकेका छन्। आगजनीबाट क्षतिग्रस्त भएका १२ वटा शाखामध्ये ८ वटा पुनः सञ्चालनमा ल्याइएको छ।
सुनसरीको धरान, काठमाडौंको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा भने पुनः सञ्चालनको तयारीमा रहेका छन्। भाटभटेनीले यी शाखाहरू असोज मसान्तभित्र पुनः सञ्चालनमा ल्याउने योजना बनाएको छ।
आन्दोलनका क्रममा काठमाडौं उपत्यकाभित्र महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस र नक्साल शाखामा आगजनी भएको थियो। उपत्यका बाहिर पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पनि आगजनीबाट क्षतिग्रस्त भएका थिए।






