बिहार, भारत, २ सेप्टेम्बर २०२६ — नेपालबाट बाढीको पानी बिहार प्रवेश गरेपछि भारतको बिहार सरकारले बाढीमा भेटिएका अपरिचित तथा असामान्य देखिने माछा नकिन्न, नबेच्न र नखान सर्वसाधारणलाई चेतावनी दिएको छ। यस्तो माछा खाएपछि केही मानिस बिरामी परेको रिपोर्ट आएपछि सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सरकारले सावधानी अपनाउन आग्रह गरेको हो।
बिहारको डेरी, मत्स्य तथा पशु संसाधन विभागअन्तर्गतको मत्स्य प्रभागले पश्चिम चम्पारण र गोपालगञ्जसहित गण्डक नदी आसपासका बाढी प्रभावित क्षेत्रमा अपरिचित माछा भेटिएको रिपोर्टपछि यस्तो परामर्श जारी गरेको हो। नेपालबाट आएको बाढीको पानी गण्डक नदी प्रणाली हुँदै बिहारका उत्तरी क्षेत्रमा फैलिएको छ।
विभागका अनुसार बाढीका कारण नदी, पोखरी, ताल तथा अन्य जलाशयमा रहेका माछा आफ्नो प्राकृतिक क्षेत्रबाट बगेर अन्य स्थानमा पुग्न सक्छन्। यस क्रममा ती माछा ढल, मरेका जनावर, हिलो तथा अन्य प्रदूषित पदार्थको सम्पर्कमा आउन सक्ने भएकाले ब्याक्टेरिया, भाइरस, ढुसी वा रासायनिक पदार्थबाट दूषित हुने जोखिम रहन्छ।
सरकारले माछाको प्रजाति वा स्रोत पहिचान हुन नसकेको अवस्थामा त्यस्ता माछा नखान आग्रह गरेको छ। सम्बन्धित निकायबाट सुरक्षित भएको पुष्टि नभएसम्म अपरिचित माछा खरिद तथा बिक्री नगर्न पनि विभागले भनेको छ।
बाढीको पानीबाट आएको माछा खाएपछि बान्ता, पखाला, पेट दुख्ने, चक्कर लाग्ने वा सास फेर्न कठिन हुनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा जान विभागले आग्रह गरेको छ। अपरिचित माछा भेटिएमा जिल्ला मत्स्य अधिकारी वा स्थानीय प्रशासनलाई जानकारी दिन पनि सर्वसाधारणलाई भनिएको छ।






