काठमाडौं, अक्टोबर १५, २०२६ — नेपालमा ओमोडा र जेइकूका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा ‘पावर्ड बाई’ प्रायोजकका रूपमा आबद्ध भएको छ।
कम्पनीले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारी लगातार तेस्रो वर्ष पनि निरन्तरता दिएको छ। ओमोडा एन्ड जेइकू सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणदेखि नै लिगसँग जोडिएको छ। त्यसबेला ब्रान्ड ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध थियो भने २०२६ को संस्करणमा ‘पावर्ड बाई’ प्रायोजकको भूमिका लिएको छ।
कम्पनीका अनुसार यो साझेदारी नेपाली क्रिकेटप्रतिको निरन्तर समर्थन र देशमा विस्तार भइरहेको खेलकुद समुदायसँग जोडिने प्रयासको हिस्सा हो।
कम्पनीले भनेको छ, “यो साझेदारीले नेपाली क्रिकेटसँग ब्रान्डको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ। यसले खेलकुदको उत्साह र अटोमोबाइल क्षेत्रमा भइरहेको नवप्रवर्तनलाई एकै ठाउँमा ल्याउँछ।”
साझेदारीको प्रमुख आकर्षणमध्ये प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सवारीसाधन प्रदान गरिने ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ पुरस्कार पनि हो। यस पुरस्कारमार्फत ओमोडा एन्ड जेइकूले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानस्वरूप एउटा सवारीसाधन प्रदान गर्छ।






