काठमाडौं, १५ सेप्टेम्बर २०२६ — अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। वार्नर एनपीएलमा सहभागी हुने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नाम बनेका छन्।
काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत वार्नरसँग सम्झौता भएको औपचारिक घोषणा गरेको हो। यससँगै फ्रेन्चाइजले केही दिनदेखि संकेतमार्फत सार्वजनिक गरिरहेको चर्चित विदेशी खेलाडीको पहिचान पनि खुलेको छ।
यसअघि अस्ट्रेलियाली क्रिकेट संस्था सिम स्ट्राइकले वार्नर एनपीएल खेल्ने दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। वार्नरले उक्त पोस्टमा लाइक गरेपछि उनको एनपीएल सहभागिताबारे चर्चा थप बढेको थियो। त्यसपछि काठमाडौं गोर्खाजले आफ्नो मुख्य विदेशी खेलाडीबारे विभिन्न संकेत सार्वजनिक गरेको थियो, जसले वार्नरतर्फ संकेत गरेका थिए।
३९ वर्षीय वार्नर अस्ट्रेलियाका सफल आधुनिक क्रिकेटरमध्ये एक हुन्। उनी सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्य थिए। उनले सन् २०२१ को टी–२० विश्वकप र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीमा पनि महत्वपूर्ण भूमिका खेले।
वार्नर तीनवटै अन्तर्राष्ट्रिय प्रारूपमा शतक बनाउने अस्ट्रेलियाली खेलाडीमध्ये एक हुन्। उनले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार २७७ रन बनाएका छन्। उनको स्ट्राइक रेट १४२.४७ रहेको छ भने उनले एक शतक पनि बनाएका छन्।






