काभ्रेपलाञ्चोक, अक्टोबर १९, २०२६ — झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बस बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ को सेल्फीडाँडामा सडकबाट करिब २०० मिटर तल खस्दा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा इलाम नगरपालिका–६ निवासी ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ निवासी २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार चालकसहित तीनै जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो।
उद्धार गरिएका तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ।






