काठमाडौं, अक्टोबर ९, २०२६ — काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन गरेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरू बसेको साढे दुई तले घरबाट करिब २१ किलो सुन बरामद गरिएको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ उक्त घरमा छापा मारेको थियो। प्रहरी पुग्दा सुन गाल्ने काम भइरहेको स्रोतले जनाएको छ। पक्राउ गर्ने क्रममा केहीबेर धक्कामुक्कीसमेत भएको बताइएको छ।
घर खानतलासी गर्दा प्रहरीले सुन गाल्ने, त्यसको गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने उपकरणहरू पनि बरामद गरेको छ।
प्रहरीका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताएअनुसार पक्राउ परेका व्यक्तिहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याउने, आवश्यकताअनुसार विभिन्न आकारमा ढाल्ने र त्यसपछि आपूर्ति गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी अधिकारीका अनुसार प्रारम्भिक विवरणले ती चिनियाँ नागरिकहरूले च्यानल गेट र सीसीटीभी क्यामेरा जडान गरेर भाडाको घरमा व्यवस्थित रूपमा सुन प्रशोधनको काम गर्दै आएको देखाएको छ।






