काठमाडौं, सेप्टेम्बर २८, २०२६ — नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टाछुट्टै तयारी गरिरहँदा उम्मेदवारी मनोनयन शुल्क पनि फरक–फरक तोकेका छन्।
विशेष महाधिवेशनबाट नेतृत्व चयन भएको थापा नेतृत्वको कांग्रेसले केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकेको छ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
देउवा नेतृत्वको समूहले भने आफ्नो निर्वाचन निर्देशिकामा तुलनात्मक रूपमा कम शुल्क तोकेको छ। केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
केन्द्रीय सभापतिका लागि दुई समूहबीच १० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि पाँच हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि एक हजार रुपैयाँको अन्तर छ। सहमहामन्त्रीका लागि भने दुवै समूहले २० हजार रुपैयाँ शुल्क तोकेका छन्।
तल्लो तहका पदमा पनि दुई समूहले फरक शुल्क निर्धारण गरेका छन्।






