काठमाडौं, सेप्टेम्बर २८, २०२६ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पुनः पक्राउ गरेको छ।
साइबर ब्यूरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई सोमबार बिहान पक्राउ गरिएको हो।
प्रसाईंले जेनजी आन्दोलनका क्रममा मारिएका रसिक खतिवडाबारे सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो।
प्रसाईंले सामाजिक सञ्जालमा रचना खतिवडाले ‘छोराको लास बेचेर सांसदको सिट किनेको’ भन्ने आशयको टिप्पणी गरेपछि सांसद खतिवडाले प्रतिनिधि सभा बैठकमा भावुक हुँदै आपत्ति जनाएकी थिइन्। त्यसपछि आफू र आफ्ना दिवंगत छोरालाई लक्षित गरी प्रसाईंसहित अन्य व्यक्तिले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै आएका छन्। पछिल्लो पटक उनी भक्तपुर जिल्ला अदालतको आदेशपछि अगस्ट ३ मा रिहा भएका थिए।






