बाजुरा, अक्टोबर २४, २०२६ — बाजुरा जिल्लाका चारवटा वडामा अझै सडक सञ्जाल पुग्न सकेको छैन। सडकको पहुँच नहुँदा स्थानीय बासिन्दा आधारभूत सेवा लिन, दैनिक उपभोग्य सामग्री ओसार्न र बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्न बाध्य छन्।
सडक अभावले कृषि उत्पादन बजारसम्म पुर्याउन पनि कठिनाइ भएको छ। सङ्घीय व्यवस्था लागू भएर स्थानीय तहसम्म सरकारी सेवा विस्तार भए पनि दुर्गम बस्तीका नागरिकले अझै यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ।
हिमाली गाउँपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो। चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह रहेको बाजुरा जिल्लाको कुल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटर छ। त्यसमध्ये हिमाली गाउँपालिकाले मात्रै ८३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। भौगोलिक विकटताका कारण त्यहाँ विकास निर्माणका काम गर्न अन्य पालिकाको तुलनामा बढी कठिनाइ हुने गरेको छ।
हिमाली गाउँपालिकाका वडा नम्बर २ र ३ मा अझै सडक पुगेको छैन। स्थानीय धनबहादुर रोकायाका अनुसार ती वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र धुलाचौर पुग्न करिब दुईदेखि तीन दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।
उनका अनुसार एउटा गाउँबाट अर्को गाउँ पुग्न एक दिनभन्दा बढी समय लाग्न सक्छ। खाद्यान्न र अन्य आवश्यक सामग्री मानिसले बोकेर वा खच्चडमार्फत ढुवानी गर्नुपर्ने हुन्छ।






