काठमाडौं, अक्टोबर १, २०२६ — सरकारले सामाजिक सञ्जाललाई नियमन गर्नुका साथै अनलाइन प्लेटफर्मबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न छुट्टै कानुनी व्यवस्था तयार गरिरहेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई सम्बोधन गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताए। बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न जोखिमबाट जोगाउन विभिन्न देशले अपनाएका उमेरगत प्रतिबन्धलगायत नियामकीय अभ्यासको अध्ययन भइरहेको पनि उनले बताए।
मन्त्रीले आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामा आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचना नियन्त्रण गर्ने प्रावधान समेटिएको जानकारी दिए। ती विधेयक संसद्मा चाँडै दर्ता गर्ने तयारी रहेको उनले बताए।
सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न भने छुट्टै कानुनी व्यवस्था तयार गर्ने काम भइरहेको उनले बताए।
मन्त्री तिमिल्सिनाका अनुसार प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित बलियो बनाउन मिडिया काउन्सिल विधेयक तयार गरिएको छ। प्रस्तावित कानुन कार्यान्वयनमा आएपछि पत्रकार आचारसंहिता कार्यान्वयन तथा व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा काउन्सिलको भूमिका थप प्रभावकारी हुने उनले बताए।






