बिर्तामोड, सेप्टेम्बर २०, २०२६ — १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको तथा अश्लील भिडिओमार्फत ब्ल्याकमेल गरेको आरोपमा झापा जिल्ला अदालतले २५ वर्षीय बिमल राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
झापाको बिर्तामोड नगरपालिका–३ का राजवंशीविरुद्ध इन्टरपोलको रेड नोटिस जारी भएपछि उनलाई ओमानमा पक्राउ गरी नेपाल ल्याइएको थियो। नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि नेपालस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले २०२६ मे १३ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको जनाएको छ। एनसीबी काठमाडौं र एनसीबी मस्कटको समन्वयमा ओमानमा पक्राउ परेका राजवंशीलाई कानुनी कारबाहीका लागि नेपाल ल्याइएको हो।
जिल्ला सरकारी वकिल कार्यालय झापाले जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रअनुसार राजवंशीले फेसबुकमार्फत किशोरीसँग चिनजान गरी २०८१ जेठ ४ गते उनलाई चन्द्रगढी बजारमा बोलाएका थिए। त्यसपछि बिर्तामोडस्थित न्यु बादल होटल एण्ड लजमा लगेर विवाह गर्ने आश्वासन दिँदै जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।
करणीका क्रममा किशोरीको अनुमतिविना अश्लील भिडिओ खिचेको र उक्त भिडिओ सामाजिक सञ्जालमा राख्ने तथा आफन्तलाई पठाइदिने भन्दै धम्क्याएको अभियोगपत्रमा उल्लेख छ। त्यसपछि उनले किशोरीलाई नग्न फोटो पठाउन दबाब दिनुका साथै पटक–पटक जबरजस्ती करणी गरेको अभियोजन पक्षको दाबी छ।
वैदेशिक रोजगारीका क्रममा ओमान पुगेपछि किशोरीले कुराकानी गर्न छाडेपछि राजवंशीले नक्कली फेसबुक खाता बनाएको अभियोगपत्रमा उल्लेख छ। अभियोजन पक्षका अनुसार २०८२ फागुन ५ गते उनले उक्त खाताबाट किशोरीकी आमाको फेसबुक मेसेन्जरमा छोरीका अश्लील फोटो र भिडिओ पठाएका थिए।






