काठमाडौं, अक्टोबर ११, २०२६ — नेपालीहरूको महान् पर्व बडादसैँ आइतबार घटस्थापनासँगै सुरु भएको छ। घटस्थापना बडादसैँको पहिलो दिन हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको थियो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले दिनभर चित्रा नक्षत्र पर्ने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तलाई आधार मानेर घटस्थापनाको साइत निर्धारण गरिएको बताए।
सूर्योदयका बेला प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आइतबारलाई घटस्थापनाको दिन तोकिएको भट्टराईले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको हल्ला शास्त्रसम्मत नभएको पनि उनले बताए।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादसैँ धार्मिक विधि र उत्सवका साथ मनाइन्छ। घटस्थापनाका दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ। त्यसपछि जमरा राख्ने प्रक्रिया सुरु हुन्छ।
गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दसैँघरमा पवित्र नदीकिनार अथवा अन्य चोखो स्थानबाट ल्याइएको बालुवा वा माटो राखेर जौ छरिन्छ। जौका पहेँला अंकुरलाई दुर्गा देवीलाई अर्पण गरेपछि विजयादशमीका दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।






