तनहुँ, सेप्टेम्बर २०, २०२६ — तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित परिवारका सदस्यलाई आयआर्जनमा जोड्न व्यावसायिक बङ्गुरपालनसम्बन्धी तालिमसँगै बङ्गुरको पाठो वितरण गरेको छ।
आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत प्रभावित परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यास नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका २३ जनालाई तालिम प्रदान गरी बङ्गुरपालनका लागि सहयोग गरिएको हो।
भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा बङ्गुरको खोर व्यवस्थापन, नश्ल छनोट, आहार व्यवस्थापन, रोगको रोकथाम तथा उपचार, उत्पादन र बजारीकरणलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
तालिमपछि प्रत्येक सहभागीलाई एक–एक वटा बङ्गुरको पाठो वितरण गरिएको छ। तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक बङ्गुरपालन सुरु गर्न वा सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको भण्डारीले बताए।






