काठमाडौं, सेप्टेम्बर ११, २०२६ — सरकारले सेयर बजार सुधारका लागि नयाँ उपाय अघि बढाउने संकेत गरेपछि लगानीकर्ताको मनोबल बढ्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार २७.९४ अंकले उकालो लागेर २,५५९.४९ विन्दुमा बन्द भएको छ।
लगातार दुई कारोबार दिन घटेको नेप्से तेस्रो दिनमा सुधारिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी साता सेयर बजार सुधारका लागि १० देखि १२ बुँदे योजना ल्याउने बताएपछि लगानीकर्तामा सकारात्मक प्रभाव परेको हो।
अर्थमन्त्री वाग्लेले पुँजी बजारसम्बन्धी कानुनी सुधारको योजना तयार गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई समेत आग्रह गरेका छन्। उनले सेबोनका अध्यक्ष डा. गोपाल भट्टले यसअघि पेश गरेका १० बुँदे सुझावलाई आधार बनाएर कानुनी सुधारको खाका तयार गर्न भनेका हुन्।
शुक्रबार कारोबार भएका सबै क्षेत्रगत परिसूचक बढेका छन्। हाइड्रोपावर उपसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि हाइड्रोपावर क्षेत्रका सेयर निरन्तर दबाबमा थिए।
यस दिन २३७ कम्पनीको सेयर मूल्य बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १०.५३ प्रतिशतले बढेको छ।






