काठमाडौं, १६ अगस्ट २०२६ — काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो पाँच दिनमै १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। आयोजकले ६ दिनमा आउने अनुमान गरेको दर्शक संख्या एक्स्पो सकिनुभन्दा एक दिनअघि नै पूरा भएको हो।
शनिबार मात्रै करिब ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका थिए। यो हालसम्मकै एक दिनको सबैभन्दा ठूलो उपस्थिति हो। एक्स्पोको पहिलो दिन करिब २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी दर्शक पुगेका थिए।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक्स्पोको छ दिनमा करिब १ लाख ५० हजार दर्शक आउने अनुमान गरेको थियो। पाँचौँ दिनमै उक्त लक्ष्य पूरा भएको हो।
एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी छन्। कार्यक्रम अवधिमा हालसम्म ५३ वटा नयाँ मोडल सार्वजनिक भइसकेका छन्।
नयाँ मोडलको सार्वजनिक र विभिन्न प्रकारका सवारीसाधनको प्रदर्शनीले दर्शकको चासो बढाएको छ। दुईपांग्रे सवारीसाधनको स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी युवा पुस्ताले प्रिमियम मोटरसाइकल ब्रान्डमा बढी रुचि देखाएका छन्।






