जुम्ला, अक्टोबर ४, २०२६ — जुम्लामा पछिल्ला वर्षहरूमा उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ भने नयाँ उद्योग दर्ता हुने संख्या घट्दै गएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८० उद्योग बन्द भएका थिए। सोही अवधिमा १८८ नयाँ उद्योग दर्ता भएका थिए भने ३३४ उद्योगले दर्ता नवीकरण गरेका थिए।
वाणिज्यतर्फ उक्त आर्थिक वर्षमा ६१ व्यवसाय दर्ता भएका थिए। यस अवधिमा ५८ व्यवसायले दर्ता नवीकरण गरेका थिए भने ५२ व्यवसाय बन्द भएका थिए। न्यौपानेका अनुसार कार्यालयले वर्षभरि विभिन्न शीर्षकमा करिब १६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ४३ नयाँ उद्योग दर्ता भएका छन् भने ११९ उद्योगले दर्ता नवीकरण गरेका छन्। सोही अवधिमा पाँच उद्योग बन्द भएका छन्। वाणिज्यतर्फ थप ११ व्यवसाय दर्ता भएका छन्।
कार्यालयका अनुसार जिल्लामा नयाँ उद्योग दर्ता घट्दै गएको र उद्योग बन्द हुने क्रम बढ्दै गएको छ। यो प्रवृत्ति पछिल्ला चार वर्षदेखि निरन्तर रहेको कार्यालयले जनाएको छ। प्रत्येक वर्ष नयाँ दर्ता घट्ने र उद्योग बन्द हुने संख्या बढ्ने गरेको छ।






