रुसमाथिको दबाब कम गर्ने निर्णयको युरोपेली विरोध
युरोपेली अधिकारीहरूले पनि रुसमाथिको प्रतिबन्धमा राहत दिने प्रस्तावको आलोचना गरेका छन्।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलासले रुसी डिजेलमाथिको प्रतिबन्ध हटाउँदा युक्रेनविरुद्धको युद्ध जारी राख्न मस्कोलाई सहयोग पुग्ने चेतावनी दिएकी छन्।
“यो रुसमाथिको दबाब कम गर्ने समय होइन, र युरोपले त्यसो गर्नेछैन,” कलासले शनिबार अनलाइनमा लेखेकी छन्।
सम्झौता भए पनि जर्मनीले रुसमाथि नयाँ युरोपेली संघीय प्रतिबन्ध लगाउन पहल जारी राख्ने जनाएको छ।
पछिल्ला महिनाहरूमा रुसी बमबारी तीव्र हुँदा सर्वसाधारणको मृत्यु बढेको छ। यसैबीच, युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भइरहेका कूटनीतिक प्रयासमा प्रगति हुन सकेको छैन।
युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी
सम्झौताको घोषणा भएकै दिन शुक्रबार अमेरिका, युक्रेन र युरोपेली अधिकारीहरूले युद्ध अन्त्य गर्ने वार्तालाई अघि बढाउने उद्देश्यले मियामीमा बैठक गरेका थिए।
अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार बैठकमा ईथ्री समूह, युरोपेली आयोग, युक्रेन र नेटोका प्रतिनिधि सहभागी थिए। उनले छलफललाई रचनात्मक बताउँदै जाडोअघि युद्धको तनाव कम गर्ने र अन्त्य गर्ने सम्भावित उपाय तथा दीर्घकालीन शान्तिका प्रयासबारे छलफल भएको बताएका थिए।
क्रेमलिनले शुक्रबार पुटिनसँगको टेलिफोन वार्तामा ट्रम्पले युद्धको तनाव कम गर्ने आफ्ना प्रस्तावहरू प्रस्तुत गरेको जनाएको छ। क्रेमलिनका अनुसार पुटिनले ती प्रस्तावलाई “बुझाइका साथ” ग्रहण गरेका थिए। तर प्रस्तावको विषयवस्तु वा पुटिनको प्रतिक्रियाबारे थप विवरण दिइएको छैन।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो। अहिले उसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ।