काठमाडौं, अक्टोबर ८, २०२६ — ‘आँखाको माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नारासहित आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ।
हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ। यस वर्षको नाराले मानिसलाई आफ्नो आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि पहुँचयोग्य र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्न सरकार तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।
यस वर्षको अभियानले विद्यालय, कार्यस्थल तथा नीति निर्माण गर्ने संस्थामा आँखा परीक्षण र जनचेतनामूलक कार्यक्रम विस्तार गर्नसमेत जोड दिएको छ।
नेपालले पछिल्लो चार दशकमा अन्धोपन घटाउन उल्लेखनीय प्रगति गरेको छ। सन् १९८१ मा अन्धोपनको दर ०.८४ प्रतिशत रहेकामा सन् २०२२ को उपचार गर्न सकिने अन्धोपनसम्बन्धी द्रुत मूल्याङ्कन (आरएएबी) सर्वेक्षणअनुसार यो दर घटेर ०.२८ प्रतिशतमा पुगेको छ।
तर अन्धोपन घट्दैमा नेपालले आँखासम्बन्धी सबै स्वास्थ्य समस्या समाधान गरिसकेको अवस्था नरहेको जनाइएको छ।






