चितवन, २७ अगस्ट २०२६ — रसुवामा आएको विनाशकारी बाढीपछि नारायणी नदीले बगाएर ल्याएको शवबाट गहना निकालेको आरोपमा प्रहरीले चितवनमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा नदी किनारमा फेला परेको शवबाट गहना निकालिरहेको देखिने भिडिओ सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही भिडिओका आधारमा दुई जनालाई बिहीबार नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी–त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुरको लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
बुधबार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी बगाएको शव नारायणी नदी किनारमा अड्किएको अवस्थामा फेला परेको थियो। बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
उक्त शवबाट दुई व्यक्तिले गहना निकालिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसलाई अनुसन्धानको आधार बनाएको थियो।






