रसुवा, सेप्टेम्बर १४, २०२६ — बाढीले फलाखु खोला र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिका स्थायी पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडकखण्डमा अस्थायी संरचना निर्माण गरी पैदल आवागमन पुनः सञ्चालन गरिएको छ।
पुलहरू बगाएपछि उक्त क्षेत्रको यातायात तथा आवागमन सम्बन्ध विच्छेद भएको थियो। तत्कालका लागि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले वैकल्पिक संरचना निर्माण गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार बेत्रावतीमा बाँस र काठ प्रयोग गरेर अस्थायी पुल निर्माण गरिएको छ। त्यस्तै, स्याफ्रुबेँसीमा ‘तुइन’का रूपमा चिनिने फलामे तारको अस्थायी आवागमन संरचना तयार गरिएको छ।
स्याफ्रुबेँसीको तुइन निर्माण सम्पन्न भइसकेको छ भने त्यससम्म पुग्ने बाटो सुधारको काम भइरहेको छ। उक्त संरचना एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
बागमती प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बेत्रावतीमा बनाइएको अस्थायी पुलले नुवाकोटतर्फबाट आउने स्थानीय बासिन्दालाई आवतजावतमा सहजता भएको बताए।






