धरान, १ सेप्टेम्बर २०२६ — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा जारी छ।
पूर्वमन्त्री सुदन किराँती नेतृत्वको समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा भने किराँती पक्ष सहभागी छैन।
पार्टीका प्रवक्ता सत्य घलेका अनुसार चार महिनाअघि भएको पार्टी एकताको निर्णयलाई बुधबारको बैठकले औपचारिक रूपमा अनुमोदन गरेपछि किराँतीसहित उनको समूहलाई बैठकमा सहभागी गराइनेछ।
“बाहिर आएको हल्ला हल्ला मात्रै हो। एकताको निर्णय हाम्रो केन्द्रीय समितिले गरेको थिएन। आजको बैठकले त्यो अनुमोदन गरेपछि उहाँहरूलाई बैठकमा सहभागी गराउने हो,” घलेले भने।
चार महिनाअघि भएको पार्टी एकताका क्रममा सुदन किराँतीलाई वरिष्ठ नेता बनाइएको थियो। किराँती पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीमा समाहित भएका थिए।






