ललितपुर, सेप्टेम्बर २८, २०२६ — लगातार वर्षाका कारण जमिन गलेपछि ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा सोमबार साढे दुईतले घर ढलेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार घरभन्दा तल पहिरो गएपछि जमिन कमजोर भएर सोवितकुमार थापाको घर ढलेको हो।
घर जोखिममा रहेको आकलन गरी त्यहाँ बस्दै आएको परिवारलाई एक दिनअघि नै सुरक्षित स्थानमा सारिएको एसपी मिश्रले बताए। परिवारलाई समयमै अन्यत्र सारिएकाले घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
असोज ९ गतेदेखि लगातार परेको वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो। आइतबार साँझदेखि भने वर्षा रोकिएको छ।






