काठमाडौं, १४ अगस्ट २०२६ — चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले नेपाली विद्युतीय बस बजारमा प्रवेश गरेको छ। हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा डोङफेङका दुई विद्युतीय बस सार्वजनिक गरेको हो।
कम्पनीले डोङफेङ सिटी ईभी र लङ रेन्ज ईभी गरी दुई भेरियन्ट उपलब्ध गराएको छ। सिटी ईभीको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ र लङ रेन्ज ईभीको मूल्य १ करोड २४ लाख रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिमा कुनै पनि भेरियन्ट बुक गर्ने ग्राहकले तोकिएको मूल्यमा ५ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय व्यावसायिक सवारीप्रति चासो बढिरहेका बेला डोङफेङका विद्युतीय बस बजारमा ल्याइएका हुन्। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ काठमाडौंको भृकुटीमण्डपमा अगस्ट ११ देखि १६ सम्म आयोजना भइरहेको छ। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी तथा मोबिलिटी उत्पादन सार्वजनिक हुने आयोजकले जनाएको छ।
दुवै बसमा दुईवटा ढोका छन् र २५ देखि २९ यात्रु अट्ने सिट क्षमतामा उपलब्ध छन्। बसमा २२० किलोवाट क्षमताको स्थायी चुम्बकीय सिंक्रोनस मोटर प्रयोग गरिएको छ, जसले अधिकतम १,५०० एनएम टर्क उत्पादन गर्छ।
यी बसमा १०३.४७ किलोवाट-घण्टा र १४० किलोवाट-घण्टाका ब्याट्री प्याक विकल्प उपलब्ध छन्। सिटी ईभीले सीएलटीसी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा २५० किलोमिटरसम्म र लङ रेन्ज ईभीले ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।



